Type Here to Get Search Results !

स्वास्थ्यकर्मीमाथिको आक्रमण अक्षम्य अपराध


कोरोना कहरमा देवीदेवतासमेत निरीह बनेको बेला स्वास्थ्यकर्मी कोरोना सङ्क्रमितका लागि बोल्ने देवता हुन्। सङ्क्रमितलाई आफन्त, नातागोता, साथीभाइसमेत छुन डराउनु पर्ने अवस्थामा स्वास्थ्यकर्मीले मात्रै नजिकबाट स्वास्थ्य परीक्षण र उपचार गरेका छन्। सङ्क्रमितको प्रत्यक्ष स्वास्थ्योपचारमा खटिएका विश्वमा कैयौँ चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालक आदिले ज्यान गुमाएका छन्। चीनको बुहानमा सर्वप्रथम कोरोना भाइरस पहिचान गर्ने चिकित्सक कै सङ्क्रमणका कारण मृत्यु भइसकेको छ। कोरोना सङ्क्रमितको उपचारमा लागेका विभिन्न तहका चिकित्सक मध्ये विश्वभर ५सय भन्दा बढीले ज्यान गुमाइसकेका छन्।

नेपालमा पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सरसफाइकर्मीलाई कोरोना पोजेटिभ देखिइसकेको छ। स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमा संक्रमण हुने दर तीव्र गतिमा बढ्दो छ। सौभाग्यवश सबैको स्वास्थ्य अवस्था सामान्य भएको र निश्चित समयको उपचारपछि पेसागत जीवनमा फर्किसकेका छन्। जनसमुदायमा सङ्क्रमितको सङ्ख्या बढ्ने गतिसँगै यिनीहरूमा सङ्क्रमण पनि बढ्ने जोखिम उत्तिकै छ।

कोरोना विरुद्धको लडाइमा अग्रपङ्तिमा रहेका स्वास्थ्य तथा सुरक्षाकर्मीमाथि आक्रमण भएका निन्दनीय घट्नाहरु पनि भएका छन्। केही दिन अघि बाँकेको नरैनापुरमा स्वास्थ्य र सुरक्षाकर्मी माथि हमला भएको थियो। भरखरै डोटी स्वास्थ्योपचारका लागि आवश्यक सामग्री लिएर स्वास्थ्य केन्द्र हिँडेका स्वास्थ्यकर्मी माथि साङ्घातिक आक्रमण भएको छ।

त्यस्तै कोरोना सर्छ भन्ने आशङ्का र आरोपमा स्वास्थ्यकर्मीको आफ्नो घर जाने बाटो नै बन्द गरिदिएको घटना सार्वजनिक भएको थियो। कोरोना विरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी माथि मानसिक, शारीरिक तथा सामाजिक किसिमले, आक्रमण, दूर्व्यवहार र अपमान हुनु अक्षम्य अपराध हो।

पछिल्लो समय चितवन र काठमाडौँमा नै यस्तो लज्जास्पद घटना घट्नु निन्दनीय दुष्कर्म हो। यस्ता अमानवीय दुष्कर्ममा कतिपय ठाउँमा जनप्रतिनिधिको अगुवाइमा नै हुनु लज्जास्पद हो। सङ्क्रमितको उपचारमा नजिकबाट खटिएका स्वास्थ्यकर्मीरूपी देवदूतलाई हातपात, दुर्व्यवहार गरेको समाचार सार्वजनिक हुनु दुखद हो। अज्ञानता, भ्रम तथा कतिपय अवस्थामा नियतवश पनि यस्ता अप्रिय घट्नाहरु हुने गरेका छन्। यस्ता अमानवीय घटनाप्रति जिम्मेवार जो कोहीलाई पनि निर्मम कारबाही गरी अग्रपङ्तिमा खटिएका पेसाकर्मीको मनोबल उच्च राख्न हिचकिचाउनु गम्भीर भुल हुन जान्छ।

यस्ता अमानवीय र आत्मघाती कदम गर्ने विविध कारण हुन सक्छन्। कोरोना कहरमा स्वास्थ्यकर्मीको महत्त्व थाहा नपाएर वा अरूको लहैलहैमा लागेर, जे गरे पनि हुन्छ भन्दै हेपेर, स्वास्थ्यकर्मीहरूमा कोरोना सङ्क्रमणका कारण आफूलाई सर्ला कि भन्दै आत्तिएर तथा अराजक झुन्डहरूले वितण्डा मच्चाउने उच्छृङ्खल तत्त्वहरूको सक्रियतामा यस्ता असामाजिक दुर्व्यवहार हुने गर्छन्। यस्ता नकारात्मक प्रवृत्तिहरुलाई निरुत्साहित र नियमन गर्न जनचेतनामूलक कार्य तथा सख्त कानुनी कारबाही गर्न सरकार, समुदायलगायतका हरेक नागरिकले तदारुकता देखाउन विलम्ब गरिनु हुन्न। स्वास्थ्यकर्मीले आफ्नो दायित्वबाट पन्छिदा आउने भयावह स्थितिको आंकलन गरेर बेलैमा कडा कारबाहीको नीति लिन तीनै तहका सरकारले तदारुकता देखाउनु दूरदर्शिता ठहर्छ।

उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मीहरुले आफ्नो बालबच्चा र घरपरिवारलाई नभेटेको कैयौँ दिन भैसकेको छ। उता परिवारजन पनि आफन्तलाई केही होला कि भन्ने आशंका र चिन्ताले पिरोलिई राखेका हुन्छन्। अन्य पेसकर्मीहरु आफ्नो परिवारजनसँग रमाइरहेका बेला स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र सञ्चारकर्मी देश र जनताका लागि निरन्तर खटिइरहनु सम्मानयोग्य काम हो। तर उनीहरूले सरकार, सरोकार र जनसमुदायबाट पर्याप्त प्रशंसा, प्रोत्साहन र सम्मान नपाएको गुनासो जायज छ। केही समयअघि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलबबाट पनि कट्टी गरी कोरोना राहत कोषमा रकम जम्मा गर्ने निर्णय भएको हल्ला चलेको थियो। जसको विपक्षमा व्यापक सार्वजनिक आलोचना पछि कटौती नहुने सरकारले जानकारी गराएको थियो। उनीहरूलाई आकर्षक जीवन बिमा लगायत अन्य आर्थिक, सामाजिक तथा मनोवैज्ञानिकरुपमा उच्च मनोवलयुक्त बनाउन सके मात्र कोरोना विरुद्धको लडाई सहजरुपमा जितिने तर्फ नागरिक समाज र सरकारले हेक्का राख्नु जरुरी छ।

स्वास्थ्यकर्मीको लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री(पीपीई) अभाव, राज्यको चौथो अङ्गको रूपमा स्वीकार्यको सञ्चारकर्मीको लागि सामान्य सुविधा पनि आफैले जोहो गर्नुपर्ने, सरसफाइकर्मीका लागि फोहोर मैलाको सङ्क्रमणबाट बच्ने पीपीई, स्यानिटाइजर लगायतका सामग्रीमा पहुँच नहुनु, त्यस्तै अहोरात्र सडक र समुदायमा खटिने सुरक्षाकर्मीका लागि समेत पर्याप्त स्वास्थ्य सामग्रीको अभाव रहेको गुनासो समयमै सम्बोधनमा ध्यान जानु पर्दछ। उनीहरूलाई आफ्नो पेशाप्रति अझ दत्तचित्त भएर लाग्न प्रोत्साहित वातावरण र सुविधा प्रदान गर्न कन्जुस्याइँ गरिनुहुन्न।

कोरोना महाव्याधि उपचारको अहिलेसम्म निश्चित औषधी पत्ता लागिसकेको छैन। उपचार भन्दा पनि रोकथामका उपायहरू नै कोरोना बच्ने उत्तम उपाय ठहरेको छ। सुरुमा चमेरोबाट मानवमा सरेको कोरोना भाइरस अहिले मानव बीचको संसर्गबाट सर्दै छ। मानव संसर्गलाई निरुत्साहित गर्न सामाजिक दूरी बढाउन विभिन्न उपायहरू हुन सक्छन्। अहिले रोकथामका लागि विश्वभर लकडाउन उपाय लोकप्रिय बनेको छ। त्यस्तै कोरोना सङ्क्रमित पहिचान र उपचारका लागि ट्रेसिङ, टेस्टिङ्ग र ट्रिटमेन्टलाई अभियानको रूपमा सञ्चालन गर्नुपर्ने बाध्यता भएको छ।

कोरोनालाई परास्त गर्न स्वअनुशासन, स्वस्थ र स्वच्छ बानीबेहोरा तथा सन्तुलित पौष्टिक आहार अर्को विकल्प हो। रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपान र शारीरिक व्यायाम तथा सकारात्मक शोच पनि प्रभावकारी हुने विज्ञहरूको दाबी छ।

लकडाउनमा पनि कतिपय व्यक्तिहरू अनावश्यकरुपमा घरबाहिर निस्केर रोग सल्किने जोखिमलाई निम्त्याएका कतिपय घटना सार्वजनिक हुने गरेका छन्। स्वास्थ्यकर्मी आफ्नो रोजीरोटीको लागि मात्रै नभएर मानव सेवा जस्तो पवित्र काममा जीवन नै दाउमा राखेर दिलोज्यानले लागेका छन्। उनीहरूको हौसला र मनोबल बढाउन सर्वसाधारणदेखि सरकारसम्मले मुक्त कण्ठले प्रशंसा, प्रोत्साहन तथा सम्मान गर्नु हामी सबैको धर्म हो।

बाबुकाजी कार्की शिक्षा मन्त्रालयका पूर्व उपसचिव हुन्

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.