Type Here to Get Search Results !

बाछिटा लेखनमा शब्दशक्तिको प्रयोग


बाछिटा नेपाली साहित्यमा हालसालै प्रवर्तित एउटा अलग तथा सशक्त विधाको रूपमा पहिचान स्थापित गर्ने जमर्कोमा छ। साहित्यकार अमर त्यागीद्वारा प्रवर्तन गरिएको यो विधालाई सयौं स्रष्टाहरूले आआफ्ना सिर्जनामार्फत् मलजल गरिरहेका छन्। "बाछिटा चौतारी"मा पोखिएका असङ्ख्य जलविन्दुका छिटाहरूको शीतल स्पर्शले साहित्यानुरागी पाठकहरूलाई आल्हादित तुल्याइरहेको छ। दिन दुगुना रात चौगुनाका हिसाबले नव प्रतिभाहरू यो विधातर्फ आकर्षित भैरहेको सन्दर्भमा विधाका प्रवर्तक त्यागीले बाछिटाको विधागत मान्यतालाई सूत्रबद्ध गर्दै बाछिटामा शब्दको प्रस्तुति अभिधात्मक रूपमा नभई लक्षणात्मक र व्यञ्जनात्मक रुपमा गर्न सुझाएका छन्। यसै मेसोमा यो संक्षिप्त आलेखमा साहित्यमा प्रयोग हुने तीन प्रकारका शब्दशक्ति : अभिधा, लक्षणा र व्यञ्जनाको प्रयोगलाई बाछिटा रचनाको आँखाले हेर्ने प्रयास गरिएको छ।

१. अभिधा : कुनै पनि शब्दमा निहित सोझो अर्थ अथवा शाब्दिक अर्थको शक्तिलाई अभिधा शब्दशक्ति भनिन्छ।
जस्तैः 

पोखरा 
फेवातालमा
छन् माछा

प्रस्तुत पंक्तिहरूमा ३-५-३ अक्षर संरचना, अर्थगत सामनञ्जस्यतालगायतका बाछिटामा हुनुपर्ने तत्त्वहरू हुँदाहुँदै पनि उल्लेखित शब्दहरूमा ``पोखरामा फेवाताल छ र त्यहाँ माछा छन् ´´ भन्ने सोझो शाब्दिक अर्थ (अभिधा)बाहेक अन्य प्रतिकात्मक वा लाक्षणिक वा व्यङ्ग्यात्मक कुनै किसिमको अर्थ प्रदान गर्ने सामर्थ्य नभएकोले यसलाई सशक्त बाछिटाको रुपमा ग्रहण गर्न सकिन्न।

२. लक्षणा : कुनै पनि शब्दमा निहित मुख्य अर्थ वा शाब्दिक अर्थभन्दा फरक तर सोही अर्थको आशय वा भावनासँग मेल खाने अन्य कुनै अर्थको संकेत गर्नसक्ने सामर्थ्यलाई लक्षणा शब्दशक्ति भनिन्छ।
जस्तै : 

झुक्दैन
वीर गोरखा
चुक्दैन

मत्ताको
पत्थर दिल
सत्ताको

प्रस्तुत बाछिटाहरू मध्ये पहिलोमा उल्लेखित ``वीर गोरखा´´ को अर्थ गोरखा नाम गरेको स्थानलाई वीर भन्न खोजिएको नभई गोर्खालीहरू वा गोरखाका बासिन्दाहरूलाई वीर भन्न खोजिएको देखिन्छ । 
त्यस्तै, दोस्रो बाछिटामा उल्लेखित `मत्ता´ शब्दको प्रयोग भाले हात्ती जस्तै मैमत्त सत्ताधारी वर्गतर्फ लक्षित देखिन्छ भने `पत्थर दिल´को अर्थ `ढुङ्गाले बनेको दिल´ नभई `ढुङ्गा जस्तै कठोर दिल भएको´ भन्ने बुझिन्छ।

३.व्यञ्जना: कुनै शब्दले मुख्य ( शाब्दिक ) अर्थ वा लाक्षणिक अर्थभन्दा भिन्न ढङ्गबाट शब्दको प्रस्तुतिको सन्दर्भमा आधारित भई व्यङ्ग्यार्थ वा अन्य चमत्कारी अर्थ बुझाउने सामर्थ्य राख्छ भने त्यस्तो शब्दशक्तिलाई व्यञ्जना शब्दशक्ति भनिन्छ।
शब्दको व्यञ्जनात्मक प्रस्तुतिले पाठक वा स्रोताको चेतनास्तर वा दृष्टिकोणका आधारमा एउटै शब्दबाट विभिन्न अर्थको उत्पादन समेत हुन सक्छ ।

जस्तैः 

झाङ्गिए
कोपिला झरे
नाङ्गिए

गैँतीले
पहरा फोडे
रैतीले

प्रस्तुत बाछिटाहरूमध्ये पहिलोमा उल्लेखित 

झाङ्गिए
कोपिला झरे
नाङ्गिए
मा प्रयुक्त शब्दहरूको अर्थ 

१.फूलको बिरुवा झैँ झाङ्गिएको प्रेम सम्बन्धले वैवाहिक जीवनको रुप लिन नपाउँदै टुटेको अर्थमा लिन सकिन्छ।

२. जनस्तरमा राम्रोसङ्ग जरा गाडेको राजनैतिक दल आफैंभित्रको आन्तरिक कलहको सिकार भई जनताको नजरबाट गिर्दै गएको अर्थमा लिन पनि सकिन्छ।

त्यस्तै, दोस्रो बाछिटाबाट पनि चेतनास्तर र दृष्टिकोणका आधारमा पाठक वा स्रोताले अलग अलग अर्थ लगाउन सक्छन् । कसैले जनयुद्धको माध्यमबाट पुरानो सत्ता ध्वस्त पारिएको अर्थ लगाउन सक्छन् त कसैले दलितहरू सामूहिक रूपमा मन्दिर प्रवेश गर्न सफल भएको अर्थ लगाउन सक्छन् ।

अन्तमा, नेपाली साहित्याकाशका चम्किला नक्षत्र माधवप्रसाद घिमिरेप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै उहाँकै सम्मानार्थ केही बाछिटा सहित यो संक्षिप्त आलेखको बिट मार्न चाहन्छु।

सुवास
मरुद्यानको
उल्लास 

दिलायौ
अमृत प्याला
पिलायौ

मौरीको
हरायो रानो
गौरीको

हँसायौ
चिम्लेर नेत्र
रसायौ

नमन
हार्दिक श्रद्धा 
सुमन !!!

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.