Type Here to Get Search Results !

सुलीमा चढाइँदा


मैले मानिसहरूलाई भने, “मलाई सुलीमा चढाओ !”

उनीहरूले भने, “तिम्रो खुन हामीले किन आफ्नो माथामा हाल्ने ?”

मैले भने, “पागलहरूलाई सुलीमा नचढाई तिमीहरू कसरी श्रेष्ठ हुन्छौ त ?”

उनीहरूले कबुल गरे र मलाई सुलीमा चढाए । सुलीले मलाई निःशब्द बनाइदियो, शान्त बनाइदियो ।

अनि जब म धर्ती र आकाशबीच तुर्लुङ्ग झुण्डिएको थिएँ, मलाई हेर्न भनेर उनीहरूले आफ्नो शिर ठाडो गरे । उनीहरू उन्मुक्त भए, किनभने योभन्दा अगाडि उनीहरूको शिर कहिल्यै ठाडो भएको थिएन ।

जब उनीहरू मतिर हेर्दै थिए, एकजनाले सोध्यो, “तँ के पाउन यो सब गरिरा’को छस् ?”

दोस्रोले सोध्यो, “कुन कारणले तँ आफ्नो बलि दिइराखेको छस् ?”

तेस्रोले कोट्यायो, “के तँ यस्तो मूल्य चुकाएर विश्व ख्याति कमाउने धुनमा छस् ?”

चौथो अगाडि सर्‍यो, “हेर, हेर यो त मुस्कुराउँदै पो छ, के यस पीडालाई माफ गर्न सकिन्छ ?”

ती सबलाई एकमुष्ट जवाफ दिँदै मैले भनें, “यत्ति कुरो चाहिँ ख्याल गर कि म मुस्कुराएँ । न म केही पाउने धुनमा छु, न आफ्नो बलि नै दिइरहेको छु न ममा ख्यातिको अभिलाषा नै छ । यसर्थ मलाई कुनै माफ पनि नगर्नू । मलाई तिर्खा लागेको छ । मैले पहिले नै बिन्ती गरेको थेँ’ तिमीहरू मलाई मेरो खुन पिलाओ । पागलको तिर्खा उसको आफ्नै खुनले सिवाय केले मेटिन्छ र ? म त बुद्धु थिएँ । त्यसैले मैले तिमीहरूसँग चोट मागें । म तिमीहरूको दिन र रातमा कैद थिएँ र मैले तीभन्दा पनि लामा दिन र रातमा प्रवेश गर्ने द्वार मागेको हुँ ।”

“अब म जाँदै छु ठीक उसरी नै, जसरी बाँकी सब सुलीमा चढेकाहरू गएका थिए । यो नसोच कि हामीहरू सुलीबाट थाकेका छौँ । किनभने हामीलाई सकेसम्म ठूलो भीडको हातबाट सुली चढाइनु पर्दछ (त्यो भन्दा पनि ठुलो धर्ती र आकाशको बीच ।”

(खलिल जिब्रानको ‘पागल’को एक अंश ।)
भावानुवाद : टङ्क कार्की

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.